सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विधेयकको प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउनण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री धुब्रबहादुर प्रधानले पेश गर्नुभएको सो प्रस्तावमाथिको सामान्य छलफल पछि ध्वनि मतका आधारमा बहुमतबाट स्वीकृत भएको हो ।
यस्तै बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ पनि पेश भएको छ ।
यस अघि बैठकको शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरूले समयमै सडकको खाल्डाखुल्डी पुर्न तथा निर्धारित समय भित्र सडक निर्माणको काम सम्पन्न गरी आयोजनाहरूको लागत बढ्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै सांसदहरूले वर्षयाम सुरु हुन अगाडि नै सिँचाइ आयोजना तथा नदी तटबन्धका काम सम्पन्न गरी बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति नियन्त्रणको उचित कदम चाल्न तथा लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उचित कदम चाल्न माग गर्नुभयो ।
यसैगरी सांसदहरूले अहिलेको संवैधानिक व्यवस्था र राज्य प्रणालीलाई असफल बनाउने उद्देश्यले प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजाको विज्ञप्ति आएको भन्दै जनतालाई विभाजित हुन नदिन सबै गणतन्त्र पक्षधर राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै सांसदहरूले बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न तथा बाल मन्दिरको नाममा रहेको चल–अचल सम्पत्तिको संरक्षण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी संसद् बैठकमा नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक नियोगका अधिकारीहरूबाट हुने राजनीतिक एवं कूटनीतिक भेटघाट र अन्य गतिविधिहरूको उचित नियमन व्यवस्था गर्न पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्