तपाईँ सुन्दै हुनुहुन्छः

साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ

फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताउनुभयो ।

‘कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ’, गुरुङले भन्नुभयो, ‘संविधानले पनि साझा र दलगतभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ ।’

राजनीतिक पार्टीका व्यक्ति राष्ट्रपतिमा चुन्दा पटकपटक धोखा खानु परेकाले स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाइ उहाँको छ ।

‘स्वच्छ छवि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तावक जुन दल पनि हुनसक्छ’, उहाँले भन्नुभयो, ‘संविधानलाई भताभुङ्ग गरेर आफू निकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यस अघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौँ ।’

राष्ट्रपतिको विषयमा मुलुकको हितका विषयमा सोच्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘पार्टीगत फाइदाभन्दा पनि समग्र मुलुकको राजनीतिक स्थीरताको लागि सोच्नुपर्छ ।’ राजनीतिक स्थीरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधिनताको रक्षाका राजनीतिक दलहरू पार्टी स्वार्थबाट माथि उठ्नै पर्ने भनाइ उहाँको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button