तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार : उपप्रधानमन्त्री पौडेल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले एमालेबाटै राष्ट्रपतिको उम्मेदवार अघि सारिने बताउनुभएको छ ।

उहाँले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको नाम पठाउँदा दलहरुबीच भएको सहमति अनुसार राष्ट्रपतिको उम्मेदवार हुने बताउनुभयो । 

देश, जनता, विकास र समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको उल्लेख गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनलाई एमालेले पाँच वर्षसम्म निरन्तरता दिन चाहेको बताउनुभयो ।

पार्टीद्वारा आज धनगढीमा आयोजित ‘मिसन ग्रासरुट’ प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नु हुँदै उहाँले बिचार, सङ्गठन सुदृढीकरण तथा बिस्तारमा पार्टी पुनर्गठन गर्ने उद्देश्य सहित ‘मिसन ग्रासरुट’ अभियान अघि बढाएको बताउनुभयो ।

उहाँले तत्कालीन पाँच दलीय गठबन्धन सरकार गठन गर्न असफल भएपछि स्वभाविक रुपमा एमालेले पहलकदमी लिएर सत्ता समीकरण निर्माण गरी राष्ट्रिय राजनीतिमा निर्णायक योगदान गरेको बताउनुभयो । उहाँले पार्टी चौतर्फी घेराबन्दीका बीच चुनौतीको सामना गर्दै एमालेले अघि बढिरहेको पनि बताउनुभयो । 

नेकपा एमालेका प्रदेश अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा,  विन्द्रा पाण्डे, पोलिटब्यूरो सदस्यहरु गणेश ठगुन्ना, राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरु पाल, गौरी वली, लिला भण्डारी, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सचिवालय सदस्य, जिल्ला पदाधिकारी, जनवर्गीय सङ्गठनका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button