जुम्ला प्रशासन आफ्नै सुविधायुक्त भवनमा, सेवा प्रवाहमा सहज हुने आशा

जुम्ला । द्वन्द्वकालपछि निर्माण भएको पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गर्दै आएपनि वर्षौँपछि जिल्ला प्रशासन कार्यालय जुम्ला आफ्नै सुविधायुक्त नयाँ भवनमा सरेको छ । विधिवत् पूजा गरी भर्खर निर्माण सम्पन्न सुविधायुक्त भवनमा बुधबारदेखि जुम्ला प्रशासन सरेको हो ।
बुधवारदेखि कार्यालय विधिवत् रुपमा सरेपनि नयाँ भवनबाट औपचारिक सेवा केही दिनमा प्रवाह गरिने छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भन्नुभयो,“दैनिक सयौँ नागरिकको भिड हुने प्रशासन कार्यालय अब नयाँ भवनबाट सञ्चालन हुने छ । अब नागरिकले छिटो छरितो र सहज रुपमा सेवा पाउने छन् । भने विभिन्न फाँटका अभिलेखहरू सुरक्षित व्यवस्थित ढंगले राख्न सहयोग पुग्ने छ ।”
दैनिक सयौँ नागरिकको भिड हुने जिल्ला प्रशासन कार्यालय जुम्ला दशकौँदेखि साँघुरो भवनबाट सेवा दिन बाध्य थियो । साँघुरा कोठाले विभिन्न फाँटका अभिलेख राख्न पनि उस्तै समस्या थियो । भने,दैनिक सभा बैठक,छलफल भइरहने प्रशासनमा एक बैठक कक्ष (सभाहल) नहुँदा झन् कठिनाइ हुन्थ्यो ।
नयाँ भवनमा फराकिलो फाँटका कोठादेखि सभाहल समेत रहेको छ । सबै तलमा मैत्रीपूर्ण शौचालय छन् । केही दिनमा व्यवस्थापन गर्न लाग्ने भएको छ । २०७४ सालबाट निर्माण सुरु भएको दुई तले २४ कोठे प्रशासनको सुविधायुक्त भवन सम्झौता भन्दा करिब १० महिना अघिनै निर्माण कम्पनीले काम सकेर बुधबार हस्तान्तरण गरिएको हो ।
संघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदीप कुमार सिंहले लागत अनुमान ९ करोड १६ लाख भएपनि सम्झौता रकम ७ करोड ६९ लाख १६ हजारमा सुविधायुक्त भवन निर्माण भएको बताउनुभयो ।
उहाँका अनुसार ‘च्याङमिल एडी जेभी’ निर्माण कम्पनीले सम्झौता भन्दा १० महिना अघिनै गत भदौ ३० गते निर्माण सम्पन्न गरेको हो । आयोजनाको सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत प्रशासनको भवन बनेको हो ।
२०७४ साउन १० गते सम्झौता भई ०८० असार मसान्तमा सकिनुपर्ने सम्झौता भएको थियो । यद्यपि कोरोना कहरका बीचपनि निर्माणकार्य गति दिँदा निर्धारित समय अगावै काम सम्पन्न भएको ठेकेदार भिम थापाले बताउनुभयो । समयै अगावै सकेर हस्तान्तरण गर्दा खुसी भएको उहाँको भनाई छ । नयाँ सुविधायुक्त भवनमा जिल्ला प्रशासन सरेसँगै छिटो छरितो र सहज रुपमा सेवा पाउने जुम्ली नागरिकको आशा छ ।








प्रतिक्रिया राख्नुहोस्