तपाईँ सुन्दै हुनुहुन्छः

सबैको भावनालाई एकत्रित गरेर संघीय निजामती ऐन आउँछ : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सबैको भावनालाई एकत्रित गरेर संघीय निजामती ऐन ल्याउने बताउनुभयो । 

“सबैको भावना समेटेर हामी ऐन ल्याउँछौँ, सबैसँग राय लिने क्रममा छु, कर्मचारीहरूको हितलाई केन्द्रमा राखेर नै हामी ऐन ल्याउने दिशामा छौँ” उहाँले भन्नुभयो । 

संसद्को जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेका बेला आज मन्त्रालयमा मन्त्री मोदी र राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीबीच संघीय निजामती ऐनको सन्दर्भमा छलफल भएको हो । 

छलफलमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेसी कर्मचारी मञ्च लगायतका पदाधिकारीहरूको उपस्थिति थियो । 

ट्रेड युनियनका पदाधिकारीहरूले ऐन ल्याउँदा यसअघि उल्लेख भएका आफूहरूको अधिकारी कटौती नगर्न सुझाव दिए । त्यसका साथै कर्मचारीका हक हितलाई केन्द्रमा राखी समयसापेक्षताको आधारमा ऐन ल्याउनुपर्नेमा उनीहरूको सुझाव थियो ।

मन्त्री मोदीले ऐनको सन्दर्भमा यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव लगायतसँग छलफल गरिसक्नु भएको छ ।

मन्त्रालयले यस अघि तयार भएको मस्यौदालाई सङ्घीयता कार्यान्वयनको अहिलेसम्मको अनुभव, विकसित नयाँ घटनाक्रम र नेपालको आवश्यकतालाई आधारमा मानेर परिमार्जनसहित ऐन ल्याउने गृहकार्य गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button