तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्‍याउन पहल गर्ने काँग्रेस महामन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा विचाराधीन रहेको सार्वजनिक सेवा प्रसारण विधेयकलाई टुङ्गोमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

रेडियो नेपाल कर्मचारी सङ्घको केन्द्रीय अधिवेशनको आज सिंहदरबारमा उद्घाटन गर्दै काँग्रेस महामन्त्री थापाले सार्वजनिक सेवा प्रसारण विधेयकमा देखिएका कमी कमजोरी सुधार गरी निष्कर्षमा पुर्‍याउन पहल गर्ने  प्रतिबद्धता जनाउनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी सार्वजनिक सेवा प्रसारणका रुपमा अगाडी बढाउने विधेयक संसद्को राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।

महामन्त्री थापाले अबको पाँच वर्षमा संसदले परिणाममुखी काम गर्ने र लामो समयदेखि संसदमा अल्झिएर रहेका महत्त्वपूर्ण विधेयकहरू अघि बढ्ने बताउनुभयो ।

महामन्त्री थापाले रेडियो नेपालको इतिहास प्रजातान्त्रिक मूल्य र विचारसँग जोडिएको र प्रेस स्वतन्त्रतामा यसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै रेडियो नेपाल अन्य सञ्चार माध्यमभन्दा अग्रणी भूमिकामा रहनुपर्ने उल्लेख गर्नुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सरकारको नीति र कार्यक्रम अनुसार मुलुकका सबै भूभागमा रेडियोको प्रसारण पहुँच पुर्‍याउन रेडियो नेपाल कटिबद्ध भएर लागेको बताउनुभयो । 

कार्यकारी निर्देशक केसीले कर्मचारीको हकहितमा आफु सधैँ सकारात्मक रहेको र करारमा कार्यरत कर्मचारीलाई चाँडै नै सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले नेपालको प्रजातान्त्रिक आन्दोलनको जगको रुपमा रहेको रेडियो नेपाललाई त्यही ढङ्गबाट अगाडि बढाउन कर्मचारी सङ्घको आगामी नेतृत्वले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

युएनआई नेपालका अध्यक्ष शङ्कर लामिछानेले रेडियो नेपालले कस्तो सेवा प्रदान गरिरहेको छ र आजको आवश्यकता के हो भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले संस्थाको स्थापना जुन उद्देश्यका साथ भएको हो त्यस अनुसार अगाडि बढ्न कर्मचारी सङ्घको आगामी नेतृत्वले पहल गर्नुपर्ने बताउनुभयो 

कार्यक्रममा कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका महासचिव पर्शुराम पुडासैनी, पब्लिक मिडिया फोरमका अध्यक्ष दुर्गा फुयाँल लगायतले आ–आफ्नो धारण राख्नुभएको थियो ।

भोलिसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button