नेपाल–भारत सीमाबाट हराएका १६ मध्ये दुई वटा सीमा स्तम्भ भेटिए

बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको ओरिया खोला आसपासमा नेपाल–भारत सीमाबाट हराएका मुख्य र सहायक गरी १६ वटा सीमा स्तम्भ मध्ये दुई वटा बालुवाले पुरिएको अवस्थामा भेटिएको छ ।
जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमा स्तम्भ भेटिएपछि आज जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।
जिल्ला सुरक्षा समिति पर्साको बैठकले ओरिया खोला क्षेत्रमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन नगर्न भारतीय पक्षसँग आग्रह गरेको छ । ओरिया खोलामा भारतीय पक्षले ठेक्का लगाएर दिनहुँ जसो बालुवा उत्खनन गर्दै आएको छ ।
खोलामा बालुवा उत्खननका क्रममा पुरिएको अवस्थामा सीमास्तम्भ भेटिएपछि ओरिया खोलाको विवाद फेरि बाहिर आएको हो ।
खोलामा सीमास्तम्भ भेटिएपछि भूमि भारतकै हो कि नेपालतर्फको भन्नेबारे यकिन नभएकाले सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएका कारण उत्खननमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बताउनुभयो ।
चार दिनअघि मात्रै ओरिया खोलामा ४२२ नम्बरको मुख्य सीमास्तम्भ भेटिएको थियो भने हाल ४२२÷१ नम्बरको सहायक सीमास्तम्भ खोलामै भेटिएको थपलियाले बताउनुभयो । जगरनाथपुर गाउँपालिका–१ पिपडारी हुँदै भारततर्फ जाने ओरिया खोलामा धमाधम सीमास्तम्भ भेटिन थालेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको नेतृत्वमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखले स्थलगत अवलोकन गरेका थिए ।
त्यस लगत्तै, पहिलेदेखि नै विवादित बन्दै आएको ओरिया खोलामै हराएका सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।
जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले दशगजा क्षेत्रमा रहेको ओरिया खोलामा सीमास्तम्भ भेटिएपछि अब सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।
ओरिया खोला र आसपासका क्षेत्रमा मुख्य र सहायक गरी १६ वटा सीमास्तम्भ हराएका थिए ।








प्रतिक्रिया राख्नुहोस्