सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलिसम्म स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित भएको छ । प्रदेश सभाकाे बैठक आज दिउँसो १ बजे बस्ने कार्यतालिका रहेको थियो ।
प्रदेश सभा सचिवालयले केहीबेर अघि सूचना जारी गर्दै विशेष कारणवस आजको बैठक स्थगित भएको र भोलि माघ २६ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक तोकिएको जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
चार दलकाे समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका मुख्यमन्त्री रावलले भोलि माघ २६ गते भित्र सम्म प्रदेश सभा बैठकमा विश्वासको मत लिइसक्नू पर्ने संवैधानिक व्यवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशमा चार दल नेकपा एमाले, नेकपा माअाेवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धन रहेको छ ।
आजको बैठकमा सत्ता साझेदार दल मध्येको नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यहरु धनगढी बाहिर रहेकाले बैठक स्थगित गरिएको बत्ताइएको छ । बहुमतका लागि कम्तीमा २७ जना आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति निर्णायक देखिन्छ ।
यसैबिच नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले एकाएक प्रदेश सभा बैठक स्थगित गरिनु संसदीय परम्परा एवं मान्यता विपरीत भएको बत्ताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्