तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा फस्टाउँदै माछापालन व्यवसाय 

विराटनगर । मोरङ रङेली नगरपालिका–२ बवियार्विताकी दुर्गा कार्कीले  कृषि कर्ममा लाग्दा मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । 

ईश्वर एकीकृत कृषि फर्म सञ्चालन गरेर माछापालन व्यवसाय शुरु गर्नुभएकी कार्की पूर्वकै सफल किसान रुपमा चिनिनुहुन्छ ।

एकल महिला भएर पनि उहाँले गर्नुभएको मेहनत र परिश्रमका कारण सो व्यवसायबाट वार्षिक १५ देखि १८ लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ ।

२०४५ सालदेखि उहाँको परिवारले माछापालन व्यवसाय शुरु गर्नुभएको हो । ११ विघा जग्गामा २७ वटा पोखरी खनेर माछापालन व्यवसाय गर्दै आउनुभएकी उहाँले सबै पोखरीबाट वार्षिक ६० लाखभन्दा बढीको माछा बिक्री गर्दै आउनुभएको छ । 

अरू बालीको तुलनामा माछापालन व्यवसायबाट बढी फाइदा हुने भएपनि बिक्रीका लागी बजारको भने अभाव रहेको  छ । माछा उत्पादन बढेपनि बजारीकरणको अभाव हुँदा उचित मूल्य नपाएपछि माछा किसान मार्कामा परेको उहाँ बताउनुहुन्छ । बजारीकरण सहज नहुँदा किसानको भन्दा माछा खरिद गर्ने  व्यापारीलाई बढी फाइदा हुने गरेको गुनासो उहाँको छ ।

मोरङ जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा जोन कार्यक्रम सञ्चालन हँुदै आएको छ । परियोजनाले नयाँ माछा किसानलाई फाइदा पुगेको भन्नुहुँदै नयाँ पोखरी खन्न अनुदान दिँदै आएको छ । नयाँ पोखरीमा अनुदान दिएजस्तै पोखरी मर्मत सम्भारमा पनि  परियोजनाले अनुदान दिनुपर्ने कार्कीको भनाई छ । नयाँ पोखरी निर्माण गरेको तीन वर्षभित्र त्यसलाई मर्मत सम्भार गर्नुपर्ने भएकाले कतिपय किसानले पोखरी मर्मतसम्भार गर्न नसकेको कार्कीको भनाई छ । 

पोखरीमा माछाको भुरा हालेपछि सो माछा एक वर्षमा खान लायक हुन्छ । उहाँको पोखरीको एउटा माछा ८ देखि  १० केजीसम्म उत्पादन हुने गरेको छ । मोरङमा रहेका माछा ह्याचरीले समयमा माछाको भुरा दिन नसक्दा सिराहाबाट यहाँका किसानहरूले माछाका भुरा ल्याउने गरेका छन् । 

माछापालन व्यवसाय सहज भएपनि माछाको दानाको मूल्य महँगो भएकाले सोचे जस्तै आम्दानी हुन नसकेको भन्नुहुँदै उहाँले सरकारले दानामा पनि अनुदान दिन सके किसानलाई फाइदा पुग्ने बताउनुभयो  ।

किसान अभियन्ताको रुपमा परिचित कार्कीलाई सफल किसानको रुपमा नेपाल सरकार तथा विभिन्न संघ संस्थाहरूले सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ ।  उहाँले गर्नुभएको माछापालन व्यवसाय देखेर अन्य किसानले समेत माछापालन गर्दै राम्रै आम्दानी लिन थालेका छन् ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button