तपाईँ सुन्दै हुनुहुन्छः

संसद्लाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक : सभामुख घिमिरे

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले संसद्को गरिमालाई उच्च राख्न संसद्लाई प्रभावकारी र जवाफदेही बनाउनु आवश्यक रहेको बताउनुभयो ।

सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति जबाफदेही र जिम्मेवारीपूर्ण बनाउन यस्ता प्रशिक्षणात्मक कार्यक्रम उपयोगी हुने बताउनुभयो ।

उहाँले सरकारलाई जनताप्रति उत्तरदायी बनाउने थलोका रुपमा रहेको संसद्लाई गतिशिल र जनउत्तरदायी बनाउँदै जनताको हितमा प्रयोग गर्नेतर्फ संसद् र सांसदहरुले ध्यान केन्द्रित हुनुपर्नेमा समेत जोड दिनुभयो ।  

कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले संविधानले उपलब्ध गराएका हक अधिकार कार्यान्वयनका लागि आफू अविचलित भई लाग्ने बताउनुभयो । 

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले संसद्लाई सबैले मेरो हो भन्ने अनुभूति गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले संसद्ले विगतमा अपनाएका अभ्यास, मूल्यमान्यता र नयाँ अभ्यास तथा मूल्यमान्यताबारे जान्ने र त्यस अनुरुप अघि बढ्न यस्ता प्रशिक्षणले सहज बनाउने बताउनुभयो । 

प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रम भोलि शुक्रवारसम्म चल्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button