तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा यही माघ १६ गते सोमबार बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले बीमाको महत्त्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडीबुटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बिमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो । 

यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाइ हुँदा बिमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्नुहुँदै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो ।

साथै, उहाँले बिमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू सञ्चालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सहभागीहरूले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमा शुल्कमा एकरूपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरू आउने गरेको लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गोरखा नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी तथा सहायक निर्देशक केदारनाथ भट्ट, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, सञ्चारकर्मीहरू लगायत गरी करिब ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button