स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ ।
आज आयोजित पत्रकारसँगको अन्तर्क्रियामा उहाँले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उहाँको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषद्मै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ ।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएको भन्दै उहाँले उक्त बजेट पर्याप्त नभएको बताउनुभयो । न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभुत स्वास्थ्य केन्द्रदेखि विशिष्टकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उहाँको भनाइ छ ।
उहाँले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिनुभयो । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उहाँले बताउनुभयो ।
‘एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौँ’, उहाँले भन्नुभयो । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताउनुभयो ।
उहाँले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्