नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान : मुख्यमन्त्री यादव

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतको सम्बन्ध रोटी बेटीको मात्र नभई राजनीतिक सामाजिक, धार्मिक र सांस्कृतिक रुपमा समेत धेरै पुरानो सम्बन्ध रहेको बताउनुभएको छ ।
भारतको ७४औँ गणतन्त्र दिवसको अवसरमा आज वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई समेत व्यक्त गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतमा ठूलो सङ्ख्यामा नेपाली नागरिकहरूले रोजगारी प्राप्त गरिरहेको तथा भारतीय नागरिकहरूले पनि नेपालमा रोजगारी गरिरहेको बताउँदै शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एक अर्काको परिपूरक भएको बताउनुभयो ।
उहाँले नेपाल भारतको भाषा, संस्कृति भेषभुषा समेत मिल्दोजुल्दो भएको बताउँदै एक अर्काको सुख–दुःखमा सधैँ सहभागी हँुदै आएको बताउनुभयो ।
मुख्यमन्त्री यादवले भारत सरकारको सहयोगमा वीरगञ्जमा निर्माण भएको सुख्खा बन्दरगाह, हुलाकी राजमार्ग, अन्तरदेशीय पेट्रोलियम पाइप लाइन जस्ता योजनाले नेपालको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुगेको पनि बताउनुभयो ।
कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेश कुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बासाबास गरिरहेका भारतीय नागरिकहरूमा बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्