विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या
त्रिवेणी I सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् मिटर जडान नहुँदा किसान समस्यामा परेका छन् । विद्युतीय मोटरबाट सिँचाइ गर्न खेत खेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताउनुभयो ।
बोरिङ गाडिएको भए पनि विद्युत् विस्तारसहित मिटर जडान गर्न नसक्दा सिँचाइका लागि समस्या भएको उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न स्थानमा अहिले सिँचाइका लागि विद्युतीय समस्या बनेको छ । “गण्डकी प्रदेशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन वर्षअघि डिप बोरिङमा लगानी गरेको थियो, अहिले बोरिङ छ, मोटर छ, तर अझै विद्युत् पु¥याउन सकेका छैनौँ”, देवकोटाले भन्नुभयो, “यसले सिँचाइमा समस्या भएको छ ।”
कृषियोग्य भूमि सिँचाइका लागि गाडिएको डिप बोरिङ अलपत्र अवस्थामा छन् । सरकारका विभिन्न निकायबाट सिँचाइ गर्न भनी जिल्लाका विभिन्न पालिकामा डिप बोरिङ गाड्ने काम गरियो तर, बोरिङ सञ्चालन गर्न विद्युत् नपुग्दा त्यस्ता डिप बोरिङ अलपत्र अवस्थामा पुगेका छन् । विद्युतीय मोटरबाट बोरिङ सञ्चालन गर्ने गरी काम गरिएको भए पनि अझैसम्म विद्युत् जडान गर्न नसक्दा समस्या परेको हो । कावासोती–१४ मा करिब ८४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रदेश सरकारको सहयोगमा बोरिङ गाडिएको थियो ।
बोरिङ गाडिएको स्थानसम्म विद्युतीय गर्न कतैबाट समन्वय नहुँदा बोरिङ खिला लागेर नष्ट हुने अवस्थामा पुगेका छन् । विद्युतीकरणसँगै मिटर जडानका लागि विद्युत् कार्यालयमा ताकेता गर्दासमेत समस्या समाधान हुन नसकेको मध्यविन्दुका किसान मनबहादुर थनेतले बताउनुभयो । मध्यविन्दुका विभिन्न स्थानमासमेत सिँचाइ गर्न भनेर गाडिएका कतिपय बोरिङ सञ्चालन हुन नसकेको मध्यविन्दुका किसान दुर्गा भुर्तेलले बताउनुभयो ।
नवलपुरका कावासोती, मध्यविन्दु, देवचुलीसहित विभिन्न पालिकामा सरकारका विभिन्न निकायको अनुदानमा बोरिङ गाडिएका छन् । तर बोरिङ गाडिए पनि विद्युत्को विस्तार उक्त स्थानमा नहुँदा सञ्चालनमा समस्या हुने गरेको छ । समन्वयको अभावका कारण सिँचाइका बोरिङमा विद्युत् उपलब्ध गराउन समस्या हुने गरको नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका प्रमुख अमृतकुमार कर्णले बताउनुभयो ।
“हामीसँगै खासै समन्वय हुँदैन, खेतको बिचमा बोरिङ गाड्नुहुन्छ, तर त्यहाँसम्म तारपोल पुगेकै हुँदैन”, कार्यालय प्रमुख कर्णले भन्नुभयो, “बोरिङ गाड्दा सोही बजेटमा तार पोल गाड्ने काम गरे हामीलाई विद्युत् दिन समस्या हुँदैन ।” किसानले बोरिङ गाडिसकेपछि विद्युत् माग गर्ने गरेको र आफूहरूकोसमेत योजना र सोहीअनुसार बजेट व्यवस्थापन नहुँदा विद्युत् जडानमा समस्या हुने गरेको कार्यालय प्रमुख कर्णले बताउनुभयो ।
कतिपय ठाउँमा तार, पोल पुगेको भए पनि थ्रि फेज तार नहुने, भोल्टजको समस्या हुने हुँदा बोरिङ गाड्नुपूर्व समन्वय गरे सहजता हुने उहाँले बताउनुभयो । समन्वयको कमिका कारणनै सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनमा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । रासस








प्रतिक्रिया राख्नुहोस्