तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

धुलिखेल I नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । 

नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो । 

सो राजमार्ग भएर यात्रा गर्ने सवारी साधनले जथाभाबी फोहरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहर मैला व्यवस्थापन ऐन, २०६८ अनुरूप सो निर्णय गरेको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका स्वयंले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ । 

तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहर मैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । जसअनुसार यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकामा त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।

अटेर गरी यस्ता क्रियाकलाप गर्ने सवारी चालक तथा यात्रुलाई फोहर मैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने उक्त समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरी सवारी चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । 

नगरप्रमुख लामासहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं ६ का अध्यक्ष टीकाबहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्म सिं लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषद्का कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले, पालिकाका कर्मचारी, प्रहरी चौकी भकुण्डेबेंसीका इन्चार्ज प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै नियम पालन गर्न आग्रह गर्नुभएको थियो । नियम पालना गरे÷नगरेको निगरानी गरी नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जनाएको छ । राजमार्ग सरसफाइका लागि नगरपालिकाले यसअघि पनि साताव्यापी कार्यक्रम गरेर सरसफाइ अभियान सञ्चालन गरिरहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button