बागमती प्रदेशका मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत प्राप्त
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा १०५ सांसदको मतसहित जमरकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्मरकट्टेललाई नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशमा सबै भन्दा ठुलो दल नेपाली काँग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १२, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद गरि १०५ सांसदको मत पाउनुभयो ।
११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्री जमरकट्टेलको पक्षमा १०५ सांसदले मत दिनुभएको थियो । उहाँको विपक्षमा ३ जना सांसदले मत दिनुभयो । प्रदेश सभामा १ जना सांसद अनुपस्थित हुनुहुन्थ्यो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसदले मतदान गर्नुभयो । पाँच दलका ७० सांसदको समर्थनमा गत पुस २५ गते जमरकट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्