राष्ट्रिय सभाको पहिलो बैठक : प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद्को गठन सम्बन्धी जानकारी

काठमाडौँ । राष्ट्रिय सभाको तेह्रौँ अधिवेशन आजदेखि शुरु भएको छ ।
अधिवेशनको आजको पहिलो बैठकमा सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पहिलो बैठकको प्रारम्भमा सदस्यलाई स्वागत गर्दै बैठक आव्हान सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल प्रचण्डको नियुक्ति र मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रहरूको ब्यहोरा बैठकलाई जानकारी गराउनु भयो ।
अधिवेशन प्रारम्भका अवसरमा दलीय प्रतिनिधित्वका तर्फबाट शुभकामना मन्तव्य दिँदै नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नवगठित सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद रमेशजङ रायमाझीले नेपाली काँग्रेसको नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्मका निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नु महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।
नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले प्रतिपक्षलाई वर्तमान सरकारले कम्तीमा एक सय दिन काम गरेको हेर्न सुझाव दिनुभयो ।
सांसदहरु डा.वेदुराम भुषाल, प्रमीला कुमारी, शेखर कुमार, तुलप्रसाद विश्वकर्मा लगायतले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम गर्न सके देशको आवश्यकता र जनताको चाहना पुरा गर्न सकिने धारणा राख्नुभयो ।
यसैबीच राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका पूर्व सदस्य मैयादेवी श्रेष्ठ, संविधान सभा सदस्य द्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक पुस २९ गते दिउसो १ बजेर १ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्