अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी छः प्रधानमन्त्री प्रचण्ड
नीजि क्षेत्रको मनोबल उठाउन सरकार गम्भीर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
ग्लोबल आइएमई बैङ्क तथा बैङ्क अफ काठमाडौबीच एक आपसमा गाभ्ने (मर्जर) सम्पन्न भई एकिकृत कारोबारको शुभारम्भको अवसरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताउनु भयो ।
वहाँले भन्नुभयो, “यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषद्को बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौँ ।”

दुई ठूला बैङ्क एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्त्वपूर्ण कदम रहेको बताउँदै प्रधानमन्त्रीले यस बाट, हाम्रो देशले अझ बलियो, थप विविध र थप गतिशील बैङ्किङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“अहिले मर्जर लगायतका क्रियाकलाप पश्चात् ठूला परियोजनामा श्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा कहिलेकाहीँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने अपेक्षा गर्न सकिन्छ।” वहाँले भन्नुभयो, “तर यो क्रममा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्न जरुरी छ।”
बैंकिंग क्षेत्रको विस्तार र सुदृढीकरणले दिएको अवसरको सही उपयोग गर्न सकियो भने ऋण तथा लगानीका श्रोतमा पहुँच बढेसँगै अर्थतन्त्र लाई गति मिल्ने र आम नागरिक तथा व्यवसायहरूको उत्थानशीलता बढ्ने वहाँले बताउनुभयो । विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित गर्न समेत बैङ्क क्षेत्रको ठूलो भूमिका रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले ठूला परियोजनामा मात्र नभएर नवीनतम बैंकिंग तथा वित्तीय प्रोडक्ट प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूवीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नीजि क्षेत्रको मनोबल उठाउन सरकार गम्भीर
कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार नीजि क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताउनुभयो । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले नीजि क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै वहाँले नीजि क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वास्थ्य प्रतिस्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताउनु भयो । यसबाट बैङ्किङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागत समेत घटेको वहाँको भनाई थियो ।

कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरूले पुँजीगत खर्च बढ्नुपर्ने, मौद्रिक नीतिमा पुनरावलोकन हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रचण्ड नेतृत्वको सरकारको पहिलो निर्णयबाट नीजि क्षेत्र उत्साहित बनेको बताएका थिए ।








प्रतिक्रिया राख्नुहोस्