तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राहीलाई ‘टाइम कार्ड’ लागू गरिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारबाट सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समय सीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।

कर्मचारीलाई सेवाप्रति जिम्मेवार बनाउन ‘टाइम कार्ड’ लागू गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयबाट दिइने सेवामा सेवाग्राहीलाई ‘टाइम कार्ड’ को व्यवस्था गर्न लागिएको हो । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र, राहदानी, नागरिकता र प्रतिलिपि शाखा, मुद्दा शाखा लगायतका शाखामा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ ।

अहिले कार्यालयमा भिड बढी हुने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीलाई सहज बनाउनका लागि कार्यालय परिसरमा हेल्प डेस्क राखिने छ । जहाँबाट आवश्यक कागजपत्र पूरा भए नभएको हेरेर सेवाग्राहीलाई सेवाका लागि पठाइने उहाँले बताउनुभयो । कागजपत्र पूरा भएका सेवाग्राहीलाई मात्र ‘टाइम कार्ड’ दिइने छ । जसले गर्दा कार्यालयमा अनावश्यक भीड नियन्त्रण हुने उहाँको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रका लागि प्रतिघण्टा ३०, राहदानीमा प्रतिघण्टा २० र नागरिकता एवम् प्रतिलिपि सेवाग्राहीको कागजपत्रका आधारमा एक घण्टाभित्र उपलब्ध गराउने गरी ‘टाइम कार्ड’ दिन लागिएको हो । सेवा लिन आएका सेवाग्राहीलाई तोकिएको समयमा सेवा दिइने छ । अहिले कार्यालयबाट दैनिकरुपमा राष्ट्रिय परिचय पत्र १९०, नागरिकता १५०, राहदानी १३० जनाले सेवा लिने गरेका छन् । नागरिकता नयाँ बनाउने ८० र प्रतिलिपि लिने ७० जना हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button