तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा–काठमाडौँ एकीकरण मार्गमा सेनाको पदयात्रा 

गोरखा । गोरखा–काठमाडौँ एकीकरण मार्गमा सेनाको पदयात्रा आजबाट सुरु भएको छ । 

राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा गोरखामा रहेको नेपाली सेनाको रिपुमर्दन गणका जवानहरूले आजबाट पदयात्रा शुरु गरेका हुन् ।

बिहीबार गोरखा दरबारको हनुमान भञ्याङ चौताराबाट शुरु भएको पदयात्रामा गणका उपसेनानी बम बोगटको नेतृत्वमा ३० जनाको टोली सहभागी भएको गणपति हेमराज विष्टले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालीन समयमा खडा गरेको नेपाली सेनाको पहिलो ५ कम्पनी –श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज गण) का झन्डाहरू लिएर पदयात्राको सुरु गरेको हो । पृथ्वी नारायण शाहकालिन पोशाकमा बाजागाजा सहित टोलीले संघीय राजधानी काठमाडौँसम्मको यात्रा तय गर्ने रिपुमर्दन गणले जनाएको छ ।

गोरखा दरबारबाट शुरु भएको यात्राले छिमेकी जिल्ला धादिङ, नुवाकोट हुँदै पुस २७ गते काठमाडौँ पुग्ने छ । ‘यात्रारत टोलीले गोरखा नगरपालिकाको भीमसेन पार्क हुँदै ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हँुदै भीमसेन थापा र सहिद लखन गाउँपालिकाको सीमाना रहेको बुंकोटघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाउने छ ।

धादिङको टोलीले नुवाकोटको जवरजंग गणलाई बुझाउँछ भने नुवाकोटको टोलीले काठमाडौँको कालिध्वज गणलाई बुझाउने छ । काठमाडौँको टोलीले पुस २६ गते बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । उक्त टर्च र झण्डा नेपाली सेनाको मुख्यालय हुँदै पुस २७ गते हनुमान ढोका पुर्‍याएर टुङ्गिने छ ।

तत्कालीन समयमा नेपाल एकीकरण बखत राजा पृथ्वीनारायण शाह र उहाँका सेनाहरूले प्रयोग गरेको पदमार्ग, कोट, गढी र किल्लाहरूलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाली सेनाले केही वर्षदेखि गोरखाबाट पदयात्राको कार्यक्रम गर्दै आएको हो ।

पदयात्रामा सहभागी टोलीलाई बिहीबार एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी दिपक कुमार बानियाँ र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले संयुक्त रुपमा उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button