आहा रारा गोल्डकपः साविक विजेता एपीएफलाई हराउँदै सङ्कटा फाइनलमा
कास्की । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै सङ्कटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा सङ्कटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे । नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको सङ्कटाका लागि गोल गर्ने दुवै जना विदेशी खेलाडी हुन् ।
पोखरामा जारी २२ औँ आहा रारा गोल्डकपको सेमिफाइनल खेल सुरु भएको ४ मिनेटमै सङ्कटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा सङ्कटाकै अर्का खेलाडी मेसुके ओलामाउले अर्को गोल गरे ।
त्यसैगरी, खेलको ६० औँ मिनेटमा पुनः स्टेफन बिनोङले दोस्रो गोल गर्दै सङ्कटालाई ३–० को अग्रता दिलाए । खेलमा निकै आक्रामक बने पनि एपीएफका खेलाडीले भने पटक–पटक पाएको अवसर गुमाएका थिए ।
खेलको ७३ औँ मिनेटमा हरि कार्की एपीएफका लागि पहिलो गोल गर्न सफल भएका थिए । तर, ८५ औँ मिनेटमा सङ्कटाका खेलाडी मेसुकेले पुनः अर्को गोल गर्दै सङ्कटाको जित पक्का गरे ।








प्रतिक्रिया राख्नुहोस्