उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजीकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो ।

गृहमन्त्री लामिछानेले सर्वसाधारणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डहीनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । उहाँले गुण्डागर्दी, सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पूर्णतः निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभयो ।
कानुन कार्यान्वयनको सिलसिलामा कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानुनले दिएको अधिकार पूर्ण प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । सो अवसरमा गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभएको थियो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी हासिल गर्नुभयो ।
गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्यसम्पादनमा प्रभाव पार्ने तत्त्व’, ‘नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक पनि गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवान एवं भिडियो कन्फेरेन्समार्फत सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, गण प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्