लुम्बिनीमा हुन लागेको मुख्यमन्त्री सम्मेलन स्थगित, सांसदहरूको शपथ १६ गते हुने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ।
अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्यकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिनअघि स्थगित भएको हो।
पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिनुभयो ।
संघीय सरकार बन्दा हालै दलहरुबीचको गठबन्धनको समीकरण पनि परिवर्तन भएको छ। कांग्रेस माओवादी गठबन्धन गरेर चुनावमा गएको भएपनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएपछि सबै क्षेत्रमा नेतालाई व्यस्तता भएकाले सम्मेलन स्थगित गरिएको जनाइएको छ।
यसैबीच लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम पुस १६ गते हुने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेशसभा बैठकको आह्वान पनि गर्न पनि सिफारिस गरिएको आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताउनुभयो । “प्रदेश प्रमुखले नै तोकेको मितिमा हुने गरी हामीले बैठकको लागि सिफारिस गरेका छौँ। सायद १८ देखि २० गतेसम्म पहिलो बैठक बस्छ।”, उहाँले भन्नुभयो।
प्रदेशसभा सदस्यको शपथ ग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ ।
प्रदेश सरकारले शपथको मिति तोकेपछि प्रदेशसभाले सोही अनुसार तयारी गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्