तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्छ : मुख्यमन्त्री राउत

बीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सबै पक्षलाई राजनीतिले प्रभाव पार्ने भएको हुँदा राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिका हुनुपर्ने बताउनुभएको छ ।

नेपाल जेसिजको ४९औँ राष्ट्रिय महाधिवेशनको आज बीरगंजमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले जबसम्म युवाहरूको राजनीतिमा पहुँच हुँदैन तबसम्म मुलुक यथास्थितिमा रहने दाबी गर्नुभयो । 

उहाँले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केही युवाहरू आएका छन्, तर त्यसले नपुग्ने बताउँदै विचार र सोचमा क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले विधिको शासनलाई प्रमुख एजेण्डा बनाएको जेसिजले व्यक्तित्व, नेतृत्व विकासका साथै युवाहरूलाई उद्यमशीलताको विकासमा लाग्न अभिप्रेरित गरेको बताउँदै अब राजनीति नेतृत्वको लागि पनि जेसिजले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले अहिले लाखौँ युवा परिवार पाल्नका लागि बिदेसिएका छन् भन्नुहुँदै स्वदेशमै रोजगारीको अवसर सृजना गरि विदेश पलायन हुने युवालाई  रोजगारी दिनेतर्फ सबैको ध्यान केन्द्रित हुनु आवश्यक रहेको बताउनुभयो । 

नेपाल जेसिजका २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य श्याम पटेल, प्रमोद जयसवाल, भारत जेसिजका उपाध्यक्ष राखी जैन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बीरगंजमा जारी जेसिजको ४९ औँ राष्ट्रिय महाधिवेशनमा जेसिजका नेपाल भरका १ सय ७७ शाखाका प्रतिनिधिहरू, अन्य देशबाट आमन्त्रित साथै शुभेच्छुक गरी १५ सय जनाको सहभागिता रहेको छ ।

महाधिवेशन नयाँ नेतृत्व चयनका साथ पुस १० गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button