तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै विश्वकप जितिरहँदा नेपालमा भने करोडौँको बाजीमा हारजितको खेल भएको छ ।

दुई राष्ट्र अर्जेन्टिना र फ्रान्सको अन्तिम खेलमा फ्रान्सको पक्षमा बाजी थापेका लामाले एकै रात एक लाख रुपैयाँ हारेका हुन् । यो हार त लामाको फाइनल खेलमा भएको हो । यसअघि पनि उहाँले विश्वकप सुरु भएदेखि नै पटक पटक विभिन्न देशको पक्षमा राखेको बाजीमा तीन लाख रुपैयाँ हारेका हुन् ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधे बस्ने कमल खत्रीले विश्वकपको अन्तिम खेलमा रु ५० हजार बाजीमा हारे । राधेराधेको एक होटलमा विश्वकप हेर्दा आफ्नै सहकर्मीहरूसँग बाजी राखेका उनले विश्वकपको अवधिभर तीन लाख रुपैयाँ बाजीमै सिध्याए ।

यी त उदाहरण मात्रै हुन्, आइतबार राति सम्पन्न फिफा विश्वकपमा खेल भइरहँदा भक्तपुरमा मात्रै बाजीमा करोडौँको हारजितको खेल भएको छ । त्यति मात्रै होइन विश्वकपकै बहानामा अनलाइनमार्फत सट्टाबाजी लगाएर जुवा खेल्ने/खेलाउने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका–८ आदर्श टोल बस्ने २५ वर्षीय अजय भेलेलाई आज पक्राउ गरेको हो । उनीहरूलाई प्रहरीले फिफा विश्वकप फुटबलका खेलहरूमा बेटिङ एप्लिकेसन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको परिसरका सूचना अधिकृत समेत रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

उनीहरूले वनएक्स बेटमा सट्टाबाजी गराउन विगत एक वर्षदेखि सट्टाबाजी गर्ने एजेन्टका रूपमा कार्य गर्न थालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पक्राउ परेका चौगुठीको विभिन्न २३ वटा बैङ्कमा रहेको २५ वटा खाताहरूको कारोबारको विवरण माग गरिएकामा हालसम्म सात वटा बैङ्क खाताबाट विगत एक वर्षमा दुई करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँको कारोबार भएको पाइएको छ ।

भेलेको विभिन्न १९ वटा बैङ्क खाताको कारोबार माग गरिएकामा हालसम्म पाँच वटा खाताको विवरण प्राप्त भएको र ती खातामा ६० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको पाइएको छ । खेलमा बढी रकम हारेका व्यक्तिको पहिचान गरी प्रलोभन देखाएर सट्टेबाजीको एजेन्ट बनाउने र सट्टेबाजीमा प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत यसरी सट्टाबाजीको रकम सङ्कलन गर्ने कार्यमा चौगुठी र भेले सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button