तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी समस्याको दीर्घकालीन समाधान सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

पूर्व प्रधानमन्त्री भट्टराईको शालिक अनावरण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गर्नुभएको थियो ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले २०७७ मा नै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण शुरु भएकोमा २०७८ असार १ गतेको बाढीले पुर्‍याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनः शुरु भएको र अब काठमाडौँ उपत्यका बासीलाई सधैँ पानी वितरण गर्न सक्ने गरी आवश्यक तयारी गरिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले काठमाडौँ बासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पुरा भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले दीर्घकालीन रुपमा समस्या समाधान नहुँदासम्म अस्थायी संरचनाबाटै पानी वितरण गर्ने योजना बनाएको बताउनुभयो ।

खानेपानी मानव जीवनका लागि अपरिहार्य आवश्यकता भएको विषयलाई ध्यानमा राखेर मेलम्चीसहित अन्य विकल्प र श्रोतहरूको समेत अध्ययन भइरहेको खानेपानी मन्त्री चौधरीले जानकारी दिनुभयो । 

कार्यक्रममा सांसद मोहनबहादुर बस्नेत र सन्तोष चालिसे, कृष्णप्रसाद भट्टराई अध्ययन प्रतिष्ठानका सल्लाहकार दिपकुमार उपाध्याय, गोकर्णेश्व नगरपालिकाका प्रमुख दिपक रिसालले चौबिसै घण्टा उपत्यकावासीलाई स्वच्छ र पिउनयोग्य पानी वितरण गर्न सक्ने गरी व्यवस्था गर्न मेलम्ची आयोजनाका कारण प्रभावित स्थानीयको समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई उपलब्ध गराउने पूर्व प्रधानमन्त्री भट्टराईको परिकल्पना साकार भएकोले आयोजनाको स्वप्न द्रष्टा एवं अवधारणाकारलाई काठमाडौंबासीले चिरकालसम्म स्मरण गर्ने छन् भन्ने उद्देश्यले शालिक अनावरण गरिएको बताउनुभयो । सचिव गेलालले स्वच्छ पिउने पानी उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले २०७८ असार १ गतेको बाढीले पुर्‍याएको क्षतिका कारण पानी ल्याउन बन्द गरिएकोमा डाइभर्सन सुरुङमार्फत पानी ल्याएर हाल सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकावासीलाई समानान्तर रुपमा पानी वितरण गर्न तत्काल दोस्रो चरणको याङ्ग्री र लार्केको कार्यान्वयन गर्नुपर्ने र वर्षातको समयमा पनि पानी पथान्तरण गर्न अहिले कै निर्माण व्यवसायीबाट थप संरचना निर्माणका लागि नीतिगत व्यवस्थाका लागि आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button