स्वर्गीय पत्रकार सर्राफकी छोरीको पठनपाठन निःशुल्क गर्ने घोषणा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगन्जका युवा पत्रकार स्वर्गीय नरेश सर्राफले समाजलाई पुर्याएको योगदानको कदर गर्दै अक्षय कोष स्थापना, नाबालिका छोरीको पठनपाठनको सम्पूर्ण जिम्मा र परिवारलाई तत्काल ५ लाख रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

स्वर्गीय पत्रकार नरेश सर्राफको १० औँ दिनको पुण्य तिथिको अवसरमा आज रेडियो वीरगञ्ज ९९ मेगाहर्ज, समाजवादी प्रेस सङ्गठन पर्साको संयुक्त आयोजनामा रेडियो परिसरमा आयोजित श्रद्धाञ्जली सभामा नगर प्रमुख राजेशमान सिंहले स्वर्गीय सर्राफका परिवारको जीविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
त्यसैगरी नगर प्रमुख सिंहले वीरगञ्जको पत्रकारिता क्षेत्रमा सर्राफले पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि उहाँले गर्नुभयो ।
नगर प्रमुख सिंहले स्वर्गीय पत्रकार सर्राफकी ७ वर्षिया नाबालिका छोरीको १० कक्षा सम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिको लिने बताउँदै बालिकाको इच्छा बमोजिमको वीरगञ्ज नगरको कुनै पनि विद्यालयमा महानगरपालिकाले पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँले पत्रकार सर्राफको निधनले पर्सेली पत्रकारितामा क्रियाशील युवा पत्रकारको कमी महशुस गराएको भन्दै वीरगन्जका पत्रकारहरूको दुख पिडामा महानगर सदैव साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
श्रद्धाञ्जली सभामा स्वर्गीय सर्राफकी ७ वर्षिया नाबालिका छोरीलाई रेडियो वीरगन्जले १ लाख रुपैयाँ, समाजवादी प्रेस सङ्गठन पर्साले १ लाख रुपैयाँ उपलब्ध गराएका छन् भने राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले बालिकाको पठन पाठनका लागि कोष खडा गर्न ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जराले पत्रकारिताका माध्यमले सर्राफले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको परिवारको जीविकोपार्जनका लागि पत्रकार महासङ्घले छिट्टै निर्णय लिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षीय सर्राफको गत मङ्सिर १५ गते हृदयाघातबाट निधन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्