सहजपुर–बोगटान सडक: चार वर्षमा २९ किलोमिटर मात्रै कालोपत्रे

गोदावरी I कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रेको काम पूरा भएको छ ।
पचास किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रेको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रेका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो ।
सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रेको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रेको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताउनुभयो ।
कालोपत्रे गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उहाँले बताउनुभयो । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रेको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिनुभयो ।
विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दाँया–बाँया एक÷एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ ।
एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्