आत्महत्याका घटनामा कमी ल्याउन सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड
जनकपुरधाम । समाजमा बढ्दो आत्महत्याका घटनामा कमी सल्यान पत्रकारहरूले सकारात्मक सन्देशमूलक समाचार र सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले आज जनकपुरधाममा आयोजना गरेको सरोकारवालाहरुसंगको संवाद कार्यक्रममा सहभागीहरूले नकारात्मक समाचार तथा सूचनाका कारण पनि समाजमा आत्महत्या जस्तो घटनालाई प्रोत्साहन मिल्ने गरेकोमा चिन्ता व्यक्त गरियो ।
सामाजिक सञ्जालमा आत्महत्याको तस्वीर तथा किशोर किशोरीमा नकारात्मक असर पार्ने किसिमको सामाग्रीहरूमा नियन्त्रण र रोकथाम आवश्यक भएको सहभागीहरूले बताउनुभयो ।
कार्यक्रममा मनोविद् पद्म प्रसाद घिमिरेले आत्महत्या गर्नुको प्रमुख कारणमा आर्थिक समस्या सबैभन्दा बढी रहेको बताउनुभयो । आर्थिक कारणले ८० प्रतिशत, पारिवारिक कारणले १५ तथा मानसिक कारणले पाँच प्रतिशतले आत्महत्या गर्ने गरेको पाइएको जानकारी मनोविद् घिमिरेले दिनुभयो ।
आत्महत्याका घटनामा कमी ल्याउन नैतिक शिक्षामा जोड दिन आवश्यक भएको बताउँदै आत्मबलको विकासका लागि योग आवश्यक भएको मनोविद्हरूको सुझाव छ । पत्रकारहरूले पनि समाचार तथा सूचना दिँदा समाजमा सकारात्मक प्रभाव पार्ने किसिमले दिनुपर्नेमा मनोविद् घिमिरेले जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका कार्यवाहक अध्यक्ष अबधेश कामतको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन महासङ्घका सचिव बटुकनाथ झाले गर्नुभएको थियो । कार्यक्रममा धनुषाका पत्रकारहरू सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्