तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक पद धारण गरेका व्यक्ति उमेर नपुगी हुने बालविवाहमा सहभागी नहुने

पाल्पा ।पाल्पाको निस्दी गाउँपालिकामा उमेर नपुगी भएको विवाह, भोजमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका छन् । बढ्दो बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले परिवारबाट निमन्त्रणा भएको भोज तथा विवाहको अन्य कार्यमा सार्वजनिक पद धारण गर्ने व्यक्ति सहभागी नहुने भएका हुन ।

पिछडिएको तथा चेतना स्तर कमजोर रहेको निस्दीमा बालविवाह न्यूनीकरण नभएको भन्दै सरोकारवाला पक्षले गाउँमा कसैको बालविवाह भएको भए, त्यस्ता स्थानमा आयोजना भएको कुनै पनि कार्यक्रममा सरिक नहुने प्रतिबद्धता जनाएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कर्मचारी तथा अन्य सङ्घ संस्थाको भेलाले बालविवाह न्यूनीकरण गर्न यस्तो अभ्यास थालनी गरेको जनाएका छन् ।

बालविवाह सामाजिक समस्याका रूपमा खडा भएकाले निरुत्साहित गर्न यस्तो निर्णय गरिएको पालिकाका अध्यक्ष मुक्तबहादुर सारूले जानकारी दिनुभयो । बालविवाह गर्ने परिवारबाट गाउँपालिकाभित्रका कार्यालयमा निमन्त्रणा आएमा कुनै पनि कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि भोज तथा अन्य कार्यमा सहभागी नहुने निर्णय गरिएको अध्यक्ष सारुले बताउनुभयो ।

बालविवाहले घरेलु हिंसा बढेको, किशोरी उमेरमै आमा बनेको, शिशुको मृत्युदर बढेकोजस्ता समस्या देखिएका छन् । बालविवाह न्यूनीकरण गर्न पालिका, समुदाय, विद्यालय तथा अन्य सरोकारवाला पक्षको सहभागिताबाट भएको यस्तो निर्णयले समाजमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गाउँपालिकाले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button