तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज भन्सारद्वारा ४ महिनामा ५२ अर्ब ५५ करोड बढी राजस्व असुली

लक्ष्य भन्दा ३३ प्रतिशत कम

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकिकृत भन्सार जाँच चौकी आईसिपी बीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को ४ महिनामा ५२ अर्ब ५५ करोड ९ लाख ६९ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

भन्सार विभागले बीरगञ्ज भन्सार कार्यालयलाई ४ महिनामा ७८ अर्ब ३ करोड ९० लाख ९ हजार राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै ३३ प्रतिशत कम राजस्व असुली भएको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा बीरगञ्ज नाकाबाट हुने मालवस्तुको आयात निर्यात घट्नुको साथै भन्सारमा लामो समयदेखि नयाँ सवारी साधनको जाँचपास हुन नसकेर थन्किनु तथा सवारी साधन नभित्रिएको कारण राजस्व असुली प्रभावित भएको बीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले बताउनुभयो ।

बीरगञ्ज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ८ अर्ब रुपैयाँ बराबरका गाडी थन्किएर बसेका छन् ।

त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि मालवस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुडालले बताउनुभयो ।

आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ को ४ महिनामा ७० अर्ब १२ करोड १९ लाख १९ हजार रुपैयाँ राजस्व असुली गरी लक्ष्य भन्दा झण्डै ५ अर्ब बढी राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button