तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा ढिलो गरी मतगणना शुरु

सोलुखुम्बु । दुर्गम हिमाली सोलुखुम्बुमा ढिलो गरी मतगणना शुरु भएको छ । भौगोलिक रुपमा ठूलो क्षेत्र भएकाले सोमबार साँझ मात्र सबै स्थानबाट मतपेटिका आएपछि मङ्गलबार साँझ ५ बजेबाट मात्र गणना शुरु भएको हो ।

खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको थियो । खुम्बु पासाङल्हामू गाउँपालिकाको नाम्चे र लुक्लामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको हो ।

लामो बाटो घुमेर आउनुपर्ने भएकाले सबै भन्दा ढिलो लिखुपिके गाउँपालिकाबाट मतपेटिका ल्याइएको थियो । मतपेटिका आएपछि सर्वदलीय बैठकले आठ स्थानमा गणना गर्ने प्रस्ताव राखेपछि निर्वाचन अधिकृतको कार्यालयले आवश्यक व्यवस्थापन गर्न समय लाग्ने भन्दै मङ्गलबार दिउँसो १ बजेबाट गणना गर्ने सहमति भएको थियो ।

तर १ बजे भनिएकोमा साँझ ५ बजेबाट मात्र गणना शुरु भएको छ । सोलुखुम्बुमा १३५ मतदान केन्द्र रहेका छन् । आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button