जुम्लामा ६५ प्रतिशत मत खस्यो
जुम्ला । आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जुम्लामा ६५ प्रतिशत मात्रै मत खसेको छ ।
जबकि ७० प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको थियो । तथ्याङ्कलाई हेर्दा निर्वाचनमा जुम्ली मतदाताको उत्साह देखिएन ।

६८ हजार ६ सय ३८ मतदाता सङ्ख्या रहेको जुम्लामा मुस्किलले ६५ प्रतिशत मत खस्दा ४४ हजार ६ सय १४ मतदाताले मात्रै मताधिकार प्रयोग गरेका छन् । बाँकी करिब २३ हजार २ सय ३४ मतदाता मतदानमा सहभागी भएका छैनन् । अधिकांश मतदाता खाडी तथा कालापहाड जानु र घरमै भएका मतदाता पनि निर्वाचनमा सहभागी नहुनु लगायतका कारणले न्यून मत खसेको हो ।

नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले जुम्लामा ६५ प्रतिशत मत खसेको बताउनुभयो । जसमा महिला २१ हजार ९ सय ५७ र पुरुष २३ हजार १ सय २ जना मतदाता मतदानमा सहभागी भएका छन् ।
प्रमुख जिल्ला अधिकारी मुकेश केसरीका अनुसार जुम्लाका सबै तहबाट ढिलामा राती १२ बजेसम्म मतपेटिका आइसक्ने छन् । भौगोलिक विकटता र सञ्चार सुविधा नभएको कारणले सबै ठाउँमा फोन लाग्न सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले मतपेटिका आउने क्रम जारी रहेको र सर्वदलीय बैठक पश्चात् मत गणनाबारे निर्णय हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्