मतदान अधिकृत कारबाहीमा
कपिलवस्तु । कपिलवस्तुमा नैतिक आचरण विपरीत कार्य गरेको भन्दै एक जना मतदान अधिकृतलाई कारबाही गरिएको छ ।
जिल्लाको क्षेत्र नं ३ (२) को कृष्णनगर नगरपालिका वडा नं. ४ मा रहेको गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेद प्रसाद पन्थीलाई जिम्मेवारीबाट पदमुक्त गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालय चन्द्रौटा, कपिलवस्तुका अधिकृत प्रकाश मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले पन्थीलाई पदमुक्त गरेको हो ।
पन्थीलाई कार्तिक २२ गतेदेखि मतदान अधिकृत पदमा नियुक्त गरिएको थियो । अधिकृत पन्थीले निर्वाचनको कार्य सम्पादन गर्दा उच्चस्तरको नैतिक आचरण विपरीत कार्य गरेको हुनाले मतदान अधिकृतलाई जिम्मेवारीबाट पदमुक्त गरिएको कपिलवस्तु क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्देशिका २०७९ दफा ८३(१) बमोजिम उक्त मतदान केन्द्रमा यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो ।
त्यस अवसरमा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी कार्यका लागि खटाइएका मतदान अधिकृत लगायतका सम्पूर्ण कर्मचारीहरूलाई तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्वाचन अधिकृत मरासिनीले निर्देशन समेत दिनुभयो ।
कसैले नियम विपरीत कार्य गरेको पाइए निर्वाचन कानून बमोजिम कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्