तपाईँ सुन्दै हुनुहुन्छः

बाराका एक सय ४५ मतदान स्थल अति संवेदनशील

बारा । भोलि आइतबार हुन गइरहेको निर्वाचनलाई मध्य नजर गर्दै सुरक्षाको दृष्टिकोणले बाराका एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सुचीमा राखिएको छ ।

जिल्लाको कुल तीन सय पाँच स्थलमध्ये एक सय ४५ मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको हो । जिल्लामा एक सय आठ मतदान स्थल संवेदनशील र ५२ स्थल सामान्य अवस्थामा छन् ।

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान स्थललाई वर्गीकरण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले सुरक्षालाई मध्यनजर गर्दै प्रहरी परिचालन हुने बताउनुभयो ।

निर्वाचनका लागि जिल्लाभित्र एक हजार पाँच सय १९ नेपाल प्रहरी र तीन हजार एक सय ४४ म्यादी प्रहरी खटिने भएका छन् । मतदानलाई भयरहित र सुरक्षित बनाउन गाउँपालिका र नगरपालिकामा दुई वटा मोबाइल टोली खटिने तथा उपमहानगरपालिकामा तीन वटा मोबाइल टोली खटिने बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button