बझाङमा निर्वाचन सुरक्षा गोष्ठी सम्पन्न

बझाङ । बझाङमा निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टका प्रतिनिधिहरूद्वारा निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको हो ।
यही मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि सुरक्षा गोष्ठी आयोजना गरिएको थियो । बुधबार वित्थडचिर गाउँपालिका वडा नम्बर ८ स्थित बागथालामा गोष्ठी सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ ।
निर्वाचन २०७९ लाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न वीरभद्रजंग गुल्म पानकोट, बागथला स्थित गुल्म र देविदल गणको संयुक्त फौजद्वारा स्थापना गरिएको सुरक्षा वेशमा सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टका प्रतिनिधिहरू उपस्थिति रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालसहित जिल्लाका सबै सुरक्षाका प्रमुख तथा प्रतिनिधिहरू उपस्थिति रहनुभएको थियो ।
सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय प्रमुख सचिव नारायण प्रसाद दुवाडी (शर्मा), सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापा, प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराईको टोली उपस्थित थियो ।
गोष्ठीमा जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्वाचनमा सुरक्षासम्बन्धी कुनै पनि समस्या नहुन दिन जिल्लाका सबै सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
आज बिहान जिल्ला प्रशासन कार्यालय बझाङमा पनि निर्वाचनको सुरक्षा सम्बन्धी जिल्ला स्थित सुरक्षाका प्रमुखहरूसँग छलफल गरिएको छ ।

निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा
जिल्ला निर्वाचन सुरक्षा समितिले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।
आज निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा समितिले भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरेको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
उहाँले जिल्लाका सबै ठाउँका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भई मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरू सक्षम रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामग्रीको सुरक्षाको उचित प्रबन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरू निर्वाचन केन्द्रमा पुगिसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्