चुनावमा लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ : प्रधानमन्त्री

कर्णाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभएको छ ।
दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा एमालेसहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्नुभयो ।
देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत आउने जिकिर गर्दै उहाँले भन्नुभयो, ‘सदन भङ्ग गरेर संविधान सिध्याउनेविरुद्ध गठबन्धन सदाका लागि हुन्छ ।’
संविधान बचाउन र प्रतिगमन रोक्न बनेको गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराउन प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
तत्कालीन कर्णाली राज्यको ग्रीष्मकालीन राजधानी सिञ्जापछिको शीतकालीन राजधानी दुल्लु दैलेखको पुरातात्विक एवं ऐतिहासिक संरक्षणसहित पर्यटकीय विकास गर्ने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले विकासमा दैलेखलाई उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र रक्षाका लागि निर्माण लोकतान्त्रिक–वाम गठबन्धन संविधानमाथि हमला हुञ्जेलसम्म कायम रहिरहने बताउनुभयो ।
उनले गठबन्धन चुनावका लागि नभई संविधान र जनताको अधिकार रक्षाका लागि भएको जनाउनुभयो ।
‘यो चुनाव विगतको जस्तो सामान्य नभई संविधान रक्षा गर्ने र त्यसलाई खोस्ने बीचको हो’, अध्यक्ष दाहालले भन्नुभयो, ‘कसलाई भोट हाल्ने र जिताउने भन्ने कुरा जनताको भागमा छ ।’ शान्ति र संविधानका पक्षमा उभिएको गठबन्धनको देशभरिको स्थितिलाई हेर्दा जित सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो ।
पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको भौतिक तथा पर्यटकीय विकासलाई गम्भीरताका साथ हेरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै अध्यक्ष दाहालले मुलुकको शान्ति, विकास र समृद्धिका लागि लोकतान्त्रिक–वाम गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्