तपाईँ सुन्दै हुनुहुन्छः

मतदातालाई सचेत गर्न धनुषामा ठाउँ ठाउँमा नमूना मतदान 

जनकपुरधाम । केही महिना अगाडी सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरेका कारणले धनुषामा करिब १३ प्रतिशत मतबदर भएपछि यस पटक मतदाता शिक्षामा जोड दिइएको छ । 

मतदाताहरुलाई मतदान गर्ने तरिकाका विषयमा वडा वडामा रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरू तथा अन्य संस्थाहरूले घर घरमा नै पुगेर मतदाताहरूलाई सिकाउनुका साथै ठाउँ ठाउँमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । धनुषाका विभिन्न पालिकाहरुमा यस पटक सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रमका कारणले विगतको चुनाव भन्दा बदर मत हुने प्रतिशतमा कमी आउने विश्वास निर्वाचन आयोगको रहेको छ । 

कतिपय वडामा प्रभावकारी तरिकाले कार्यक्रम सञ्चालन भएको छ भने कतिपय वडाहरूमा कम प्रभावकारी देखिएको छ । मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले धनुषा जिल्लाको चार ठाउँमा आज नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । धनुषाको निर्वाचन क्षेत्र नंं ३ को धनौजी, मुखियापट्टि गाउँपालिका तथा नगराईन नगरपालिकामा एक साथ नमूना मतदान आज गराइरहेको छ ।   

यसैगरि धनुषाको निर्वाचन क्षेत्र नं २ को औरहीमा पनि आजै नमूना मतदान गराइरहेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्ण कुमार राउतले जानकारी दिनु भएको छ । अन्य कतिपय ठाउँमा विभिन्न गैर सरकारी  संस्थाहरूको अगुवाइमा नमूना मतदान गराउने काम भइरहेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सबै वडा तथा धनुषाधाम नगरपालिका क्षेत्रमा समग्र विकास केन्द्रले मतदाता शिक्षाका साथै नमूना मतदान गराएर मतदाताहरूलाई सचेत गराउने काम गरिरहेको छ । 

खास गरेर अशिक्षित तथा दलित वर्गका व्यक्तिले गर्ने मतदानमा बढी प्रतिशत मत बदर हुने भएकाले सोही समुदायलाई लक्षित गरेर कतिपय पालिकाको वडाहरूमा नमूना मतदान गराइरहेका छन् । खास गरेर मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा रहने चार वटा नमूना ब्यालेट पेपर दिएर मतदान गर्न लगाउने र मत पट्याउने विषयमा जानकारी दिने काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button