जुम्लामा आठै पालिकामा नमुना मतदानःमतदाता शिक्षा अभावले बदरमत बढ्ने
जुम्ला।जुम्लाका आठै पालिकामा नमुना मतदान कार्यक्रम सकिएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत घटाउने उद्देश्यले नमुना मतदान कार्यक्रम संचालन गरिएको थियो । नमुना मतदानका क्रममा अपेक्षाभन्दा बढी मत बदर भएको पाइएको छ ।
सामान्य मतदाता भन्दा पनि सरकारी कर्मचारीहरुले गरेको मतदान बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाई भन्छन,“आठै पालिकामा गरिएको कुल नमुना मतदान मध्य १५ प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा प्रति मतदाताले चासो नराख्नु,चार वटा मतपत्र भएकोले पनि झन्झटिलो हुनु,अधिकांशले एकै मतपत्रमा चार ठाउँमा मतदान गर्नु लगायतका समस्या देखिएका छन् ।”

एकजना मतदाताले ३ मिनेटमा चारै बाकसमा मतदान गरी सक्ने निर्वाचन आयोगको लक्ष्य भएपनि गाउँका मतदाता पढेलेखेकै व्यक्तिहरुले १० मिनेट सम्म समय लगाउने गरेका छन् । नमुना मतदान तथा मतदाता शिक्षा कार्यक्रममा जनताको उत्साहपुर्ण सहभागिता नदेखिएको कारण पनि बदर मत बढन् सक्ने चुनौती दिएको छ ।
मतदातालाई बदर भोट हाल्नु भन्दा नहाल्नुनै उत्तम हो । जसरी पनि भोट सदर गर्नुपर्छ भन्ने शिक्षा अझै मतदाता प्रयाप्त पुगेको छैन् । तर आठै पालिकामा गरिएको नमुना मतदानले भने बदर मत घटाउने अपेक्षा गरिएको सूचना अधिकारी चौलागाईको भनाई छ ।
यसै बीच आईतबार चन्दननाथ नगरपालिका जुम्लामा भएको नमुना मतदानमा १ सय ४ जनाले मतदान गरेकोमा १३ मत बदर भएको छ । त्यस्तै सिंजा गाउँपालिकामा ३६ जनाले नमुना मतदान गर्दा ८ मत बदर भएका छन् ।
कनकासुन्दरीमा ४८ जनाले मतदान गर्दा १२ मत बदर, पातारासीमा ३८ जनाले मतदान गर्दा १४ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

साथै जिल्लाको हिमा गाउँपालिकामा ४२ जनाले गरेको नमुना मतदानमा १२ मत बदर भएको छ । भने,तातोपानीमा ५९ जनाले मतदान गरेकोमा ९ मत बदर भएको छ । उता तिलामा ७२ जनाले नमुना मतदान गर्दा १८ मत बदर हुँदा गुठिचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकोमा १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
यसरी तथ्यांक हेर्दा आगामी निर्वाचनमा अपेक्षाभन्दा बढी मत बदर हुने देखिएको छ । मतदाताले छाप लगाएर पट्याउन नजानेको, दुई कोठामा छाप लगाएको र दुई चिह्नमा छाप लगाएको समस्या देखिएको छ ।

नमूना मतदानले बदर मतको संख्या घटाउनका लागि जिल्लाका ६० वटै वडामा स्वयमसेविका परिचालन गरिएको छ ।
जिल्लाभर कुल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन ।
प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ ।








प्रतिक्रिया राख्नुहोस्