तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रे-२ मा हुमागाईँ र बाँस्कोटाबीच रोचक प्रतिस्पर्धा

राजकुमार पराजुली
काभ्रेपलाञ्चोक ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ । चुनाव नजिकिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । 

यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ । 

दुवै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् । 

बाँस्कोटा नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीको निकट मानिनुहुन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत हुनुभएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

त्यस्तै, उहाँका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित हुनुभएको थियो । साथै, अघिल्लो निर्वाचनमा विश्राम लिनुभएको थियो । 

हुमागाईँ र बाँस्कोटालाई दुवै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ । हुमागाईँ र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । 

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चार पटक पार्टीको जिल्ला नेतृत्व एवं एक पटक केन्द्रीय सदस्यको नेतृत्व गर्नुभएको थियो । 

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । २०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्री समेत हुनुभएको थियो ।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी हुनुभएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ । हुमागाईँलाई बाँस्कोटाकै गृह नगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्व सांसद विदुरप्रसाद सापकोटा समेतको साथ  छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा)माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ । 

२०४४ मा नेकपा (मसाल)बाट राजनीतिक यात्रा सुरु गर्नुभएका दोङ तत्कालीन नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गर्नुभएको थियो । 

यस्तै, विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । दोङ २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित हुनुपर्यो । 

यसैगरी, विसं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गर्नुभएका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गर्नुभएको हो । उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) र (ख) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा हुनुहुन्छ । उहाँहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा हुनुहुन्छ । 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (क) र (ख) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ हुनुहुन्छ । उहाँहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहनुभएको छ ।

काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । 

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदान स्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button