‘निर्वाचन सफल पार्न सहयोग गर्छौँ’
रसुवा । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपले पालना गर्दै आसन्न निर्वाचन सफल पार्न आफूहरू दृढ रूपमा अगाडि बढ्ने रसुवाका पत्रकारले प्रतिबद्ध जनाएका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई सफल पार्न जिल्ला निर्वाचन कार्यालय रसुवाद्वारा आयोजित ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रममा रसुवामा क्रियाशील पत्रकारहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने र आचारसंहिता उल्लङ्घनका गतिविधि न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय समाचार समिति (रासस)का ज्ञानेन्द्र न्यौपाने, नेपाल टेलिभिजनका सुशील कोइराला, कान्तिपुर दैनिकका बलराम घिमिरे, नेपाल समाचारपत्र एवं त्रिशूली प्रवाह साप्ताहिक र सैलुङ अनलाइनकी सरस्वती न्यौपाने, जिल्लामा सञ्चालित रसुवा एफएम रेडियोका दावाकर्मो लोप्चन र मञ्जु तामाङ, लाङटाङ एफएम रेडियोकी गीता न्यौपानेसहित स्थानीय संवाददाताको सहभागिता थियो ।
जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले आसन्न निर्वाचन सफल पार्न रसुवामा कार्यरत पत्रकारले पूर्ण रूपको सहयोग गर्नेमा आफू आशावादी भएको बताउँदै झुटा समाचार लेख्ने र भ्रमपूर्ण अभिव्यक्ति दिनेप्रति सजक रहन अनुरोध गर्नुभयो ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको सम्पूर्ण खाका पत्रकारसामु प्रस्तुत गर्दै जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले आसन्न निर्वाचनमा चार वटा मतपत्र प्रयोग हुने र प्रयोगको तौरतरिका मतदातासामु सिकाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिनुभयो ।
मतदानका लागि ३४ स्थानको ५२ वटा मतदान केन्द्रबाट २०७९ साल मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मतदान गर्न पाउने प्रावधानअनुरूप रसुवामा १९ हजार तीन सय ४० महिलासहित कूल ३९ हजार चार सय ५९ मतदाताले मतदान गर्ने थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्