तपाईँ सुन्दै हुनुहुन्छः

एक महिनादेखि कर्णाली करिडोर बन्द हुँदा हुम्ला, मुगु र बाजुराका बासिन्दालाई सास्ती

बाजुरा । हुम्ला, मुगु र बाजुरालाई जोड्ने कर्णाली करिडोर राजमार्ग एक महिनादेखि बन्द रहेको छ । 

लगातारको वर्षले असोज १९ गतेबाट बन्द भएको राजमार्ग सञ्चालनमा नआउँदा स्थानीयलाई समस्या भएको छ ।

कर्णाली करिडोरको १ सय २३ किलोमिटर सडक खण्ड मध्ये २५ किलोमिटर सडकखण्ड अहिले पनि बन्द रहेको छ । कालिकोटको थिर्पुदेखि बाजुराको भुक्का खोलासम्म १५ किलोमिटर सडक पहिरोले अवरुद्ध गरेको छ । त्यस्तै बाजुराको हिमाली गाउँपालिका सांकाचौरमा पनि पहिरो बगिरहेको हुनाले हुम्ला क्षेत्रमा पनि ९ किलोमिटर सडक अवरोध छ । 

सडक डिभिजन कार्यालय कालिकोटले कालिकोटको खुलालुदेखि थिर्पुसम्म ३० किलोमिटर सञ्चालन ल्याइसकेको छ । त्योभन्दा यता काम शुरु भइरहेको बताइएको छ । जगन्नाथ गाउँपालिकाले आफ्नो क्षेत्रमा सडक खोल्न डोजर परिचालन गरिरहेको छ । 

सडक खोल्न १ हप्ता समय लाग्न सक्ने गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनुभयो ।

एक महिनादेखि सडक बन्द हुँदा बाजुराको पुर्वोउत्तरी क्षेत्रका ४ स्थानीय तह, मुगु, र हुम्लाका बासिन्दालाई निकै सास्ति भएको छ । 

हुम्लाका बासिन्दालाई सडक बन्द भएपछि हवाई जहाजभन्दा अर्को विकल्प नभएको ताजाकोट गाउँपालिकाका बागदल मल्लले बताउनुभयो । सडक बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य निकै आकासिएको छ, जिल्ला बाहिर उपचारमा लिनुपर्ने बिरामीलाई समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार बाजुरा क्षेत्रमा रहेको कर्णाली करिडोर खोल्नलाई पहल भइरहेको बताइएको छ । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोर कालिकोटको लालुदेखि बाजुरा हुँदै हुम्लाको सरिसल्लासम्म १ सय २२.७५ किलोमिटर रहेको छ । कर्णाली करीडोर कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र हुम्लाको सरिसल्ला सम्म ३८.७५ किलोमिटर रहेको छ । बाँकी हुम्लाको सरिसल्ला देखी सदरमुकाम सिमकोट सम्म ५१ किलोमिटर सडक भने निर्माणाधीन अवस्थामा रहेको छ ।

सेनाले निर्माण गरेको सडकमा आर्थिक बर्ष २०७६/०७७ सम्म १ अर्ब ४५ करोड १७ लाख खर्च भएको थियो भने आर्थिक बर्ष २०७७÷०७८ मा २० करोड ३८ लाख खर्च भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button