सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा
राजविराज।अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा हुनुहुन्छ ।
यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनुभएको छ । जसपा अध्यक्ष यादव र लोसपा केन्द्रीय सदस्य ठाकुरले भने यसअघि पनि उम्मेदवारी दिनुभएको थियो । वाम–लोकतान्त्रिक गठबन्धनबाट लोसपाका उम्मेदवार ठाकुर छन् भने विपक्षी गठबन्धन एमाले–जसपाबाट जसपाका अध्यक्ष यादव उम्मेदवार हुनुहुन्छ । जनमत पार्टीका अध्यक्ष डा राउत एक्लै चुनावी मैदानमा हुनुहुन्छ । तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यादव यसै क्षेत्रका निवर्तमान प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उहाँले २०७४ सालको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा नेपाली काँग्रेससमेतको समर्थनमा उम्मेदवार दिनुभएको थियो । उहाँ २१ हजार छ सय २० मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेश यादवले ११ हजार पाँच सय ८० मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जयप्रकाश ठाकुरले नौ हजार चार सय ५९ मत प्राप्त गर्नुभएको थियो ।
यस पटक परिस्थिति र गठबन्धन फेरिएको छ । विसं २०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादव अहिले फरक सत्ता गठबन्धनबाट क्षेत्र नं २ (ख) मा उम्मेदवार हुनुहुन्छ । अर्का पुराना प्रतिस्पर्धी जयप्रकाश ठाकुर वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनी जसपा अध्यक्ष यादवसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिई पराजित हुनुभएका ठाकुरले लोसपा प्रवेश गरेपछि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएको हो ।
जसपाले यसअघि कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गरेको छ । लोसपा सत्ता गठबन्धनसँग छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले आफू झन् बलियो भएको ठाकुरको भनाइ छ । राजविराज नगरपालिकासहित महदेवा, छिन्नमस्ता र तिलाठी गाउँपालिका पर्ने यस क्षेत्रमा पछिल्लो स्थानीय तहको निर्वाचनमा दुई गाउँपालिकामा लोसपा र एक गाउँपालिकामा काँग्रेसले जित हात पारेको थियो ।
राजविराज नगरपालिकामा भने जसपाले जित हात पारेको थियो । गत स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार तीन सय ७५ र एमालेले तीन हजार छ सय ९३ मत प्राप्त गरेको थियो । यस्तै काँग्रेसले १३ हजार तीन सय १५, लोसपाले १३ हजार पाँच सय ४८, माओवादी केन्द्रले सात हजार सात सय ७६ र एकीकृत समाजवादीले तीन हजार दुई सय ७१ मत ल्याएको थियो ।
हालै सम्पन्न स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ । यस आधारमा आफ्नो जीत सुनिश्चित रहेको सत्तापक्षीय गठबन्धनका साझा उम्मेदवार ठाकुरको भनाइ छ ।
जनमत पार्टीका अध्यक्ष डा राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ । बेरोजगार युवालाई स्वदेशमै रोजगारी, किसानको समस्या समाधान, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारलगायत विषयमा गरेको प्रतिबद्धताले जनताले यस पटक आफूलाई अवसर प्रदान गर्ने राउतको भनाइ छ । उहाँले भन्नुभयो, “जनताले पुराना नेतालाई होइन, मलाई सहयोग गर्नेमा विश्वस्त छु ।”
जसपा अध्यक्ष यादव भने २०७४ सालको निर्वाचन जितेपछि आफूले यस क्षेत्रको विकासका लागि निस्वार्थ भई धेरै काम गरेकाले जनताले यस पटक पनि विजयी गर्ने विश्वास व्यक्त गर्नुहुन्छ । कृषि विश्वविद्यालय, जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा सुधार, नर्सिङ कलेज, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी, विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माण र स्थापनाको काम गरेकाले जनताले आउँदा पाँच वर्षका लागि मौका दिने उहाँको भनाइ छ ।
जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा राउत दुवैको घर यसै क्षेत्रअन्तर्गतको महदेवा गाउँपालिकामा पर्छ । सत्ता गठबन्धनका उम्मेदवार ठाकुरको घर भने यसै क्षेत्रको राजविराज नगरपालिकामा पर्छ । सप्तरी निर्वाचन क्षेत्र नं २ मा ५१ हजार ३७ पुरुष, ४४ हजार तीन सय ५५ महिला तथा अन्य दुई मतदाता छन् ।








प्रतिक्रिया राख्नुहोस्