‘सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाउँछौँ’
दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सामाजिक सङ्घसंस्थाको सहकार्यबाट प्रदेशलाई समृद्ध बनाइने बताउनुभएको छ ।
रोटरी क्लब अफ दमौलीको आयोजना र ताइवानका चिकित्सकको सहयोगमा दमौलीमा आजदेखि सुरु बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारको एकल प्रयासबाट मात्र विकास सम्भव नरहेकाले सबैसँग सहकार्य गरिने बताउनुभयो ।
‘समृद्ध नेपाल: सुखी नेपाली’ नारालाई सार्थक दिन सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्न प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री पोख्रेलको भनाइ थियो । नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी लगायत थुप्रै क्षेत्रमा रोटरी क्लबको सहयोग अतुलनीय रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, “रोटरी क्लबले आयोजना गरेको स्वास्थ्य शिविरले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”
मुख्यमन्त्री पोख्रेलले सदरमुकाममा रहेको दमौली अस्पताललाई एक सय शय्यामा विस्तार गर्न प्रदेश सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरी क्लबले स्वास्थ्य, शिक्षा क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापा लगायतले दुई दिने स्वास्थ्य शिविरले ग्रामीण भेगका जनतालाई सेवा दिन सक्नुपर्ने बताउनुभयो ।
ताइवानका चिकित्सकको सहभागितामा सुरु शिविर भोलिसम्म चल्नेछ । दमौली लगायत आसपास जनघनत्व बढ्दै गएको र दमौलीमा सुविधा सम्पन्न स्वास्थ्य सेवा नहुँदा सर्वसाधारण पोखरा जानुपर्ने बाध्यता रहेकाले बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक रजिनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा ताइवानबाट आएका २६ जना चिकित्सकले सेवा दिनेछन् । यसका अतिरिक्त दमौली अस्पताल र पोखराबाट आएका चिकित्सकले विशेषज्ञ सेवा प्रदान गर्ने कार्यक्रमका सहसंयोजक एवं क्लबका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्