राष्ट्रपतिद्वारा कमलपोखरी र गौरीघाटमा छठ पूजा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज छठ पर्वका अवसरमा काठमाडौँको कमलपोखरी र गौरीघाट पुगी छठ पूजा गर्नुभएको छ । 
राष्ट्रपति भण्डारीले गौरीघाटको वाग्मती किनार र कमल पोखरीमा छठ पूजाका लागि तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठी माइको पूजा अर्चना गर्नुभयो । 
राष्ट्रपति भण्डारीले सो अवसरमा गुह्येश्वरी मन्दिरदेखि गौरीघाटसम्म छठ पूजाका लागि तयार पारिएका छठ घाटहरूको अवलोकन समेत गर्नुभएको थियो । 
पशुपति क्षेत्रमा पर्ने गुह्येश्वरी मन्दिरदेखि गौरीघाटसम्म वाग्मती नदीको दुवै किनारमा ५ सय भन्दा बढी छठघाट निर्माण गरी टेन्ट, फुलमाला तथा झिलिमिली बत्तीबाट सिँगारिएको छ । 
यस्तै वाग्मती नदीको विचमा छठी माइको मूर्ति स्थापना गरिएको छ भने व्रतालु तथा सर्वसाधारणको सुविधाका लागि वाग्मतीमा अस्थायी पुल समेत निर्माण गरिएको छ । 
छठ पर्वका अवसरमा आज गुह्येश्वरी–गौरीघाटमा मात्रै ३ लाख भन्दा बढी भक्तजनको उपस्थिति रहने अनुमान रहेको गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिलसिंह राजपुतले बताउनुभयो ।
केही वर्ष पहिले तराई मात्र सीमित छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यका सहित पहाडी जिल्लाहरूमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।
यस वर्ष काठमाडौँको गौरीघाट, थापाथली, कमलपोखरी लगायत विभिन्न नदी किनार तथा पोखरीहरूमा छठघाट निर्माण गरिएको छ ।
तस्वीर: मिलन ढुंगाना








प्रतिक्रिया राख्नुहोस्