तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यास्तको प्रतीक्षामा छठ पर्वका व्रतीहरू 

जनकपुरधाम । छठको सबैभन्दा महत्त्वपूर्ण दिन आज बिहान देखिनै जनकपुरधामका अधिकांश छठ घाटहरूमा व्रतीहरूले प्रसादहरू राखेर सूर्यास्तको प्रतीक्षा गरिरहेका छन् ।
तर ग्रामीण क्षेत्रमा दिउँसोबाट मात्र प्रसाद सहित व्रती तथा परिवार जन प्रसादको डाला सहित छठ घाटहरूमा पुगेका छन् । सूर्यास्त हुने वेलामा प्रसादका लागि घटमा राखेका हरेक सामाग्रीहरू व्रती आफैले उजालेर सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
छठ पर्वका लागि जनकपुरधामको विभिन्न ऐतिहासिक तथा धार्मिक महत्त्वको पोखरी, सरोवर एवं तलाउँहरुलाई नयाँ बेहुली झैँ श्रृङ्गार्ने काम भएको छ । नदी तँलाउँ तथा सरोवर नभएको ठाउँमा कुवा तथा इनारमा पनि छ पर्व मनाउने गरिन्छ ।
जनकपुरधामको छठ पर्व हेर्नका लागि देश तथा विदेशबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा पर्यटकहरू आएका छन् । गत शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठको पहिलो दिन नहाय–खाय विधि गरिएको थियो । पहिलो दिन नुहाएर प्याज, लसुन, मसुरोको दाललगायतका वस्तु खान छाडेका थिए । दोस्रो दिन शनिबार साँझ खरना विधि सम्पन्न भएको थियो । व्रतालुहरूले छठी मैया सहित इष्टदेवलाई पूजा आराधना गरी खरना विधि सम्पन्न गरेका थिए ।
माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा व्रतालुहरूले सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रूपमा छठी मैयालाई अर्पण गरेका थिए । खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा छ ।
खरनामा नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई प्रदान गर्ने गरिन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ । यस पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा पर्व समापन हुनेछ ।
छठ पर्वको लागि जनकपुरधामका प्रमुख पोखरीहरू बेहुली झैँ शृङ्गारेका छन् । आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएर पर्वको समापन गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button