उदयपुरमा छठको रौनक बढ्यो, त्रियुगा नदी सिँगारिँदै
उदयपुर । साझा संस्कृति धरोहरको रुपमा स्थापित छठ पर्वको उदयपुरमा तयारी पुरा भएको छ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारामा रातभर जाग्राम बसेर गरिने पूजाको घाट व्यवस्थापन लगायतका कामहरू पुरा भएको हो ।
नदी किनारामा विभिन्न स्टलहरू निर्माण गरि आकर्षक बनाइएको छ । नदी किनारामा दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्वार निर्माण, छठ पूजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको छ ।
छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष चन्दनकुमार साहका अनुसार सबै प्राविधिक कामहरू पुरा भएको छ । मुख्य घाट व्यवस्थापन, मूर्ति स्टल निर्माण, सांस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्वार, बिजुली बत्ती, साउण्ड सिस्टम लगायतका काम पुरा भएको उहाँले बताउनुभयो ।
पूजा स्थल तथा तलाउका घाटहरूलाई आकर्षक रुपमा सजाइएको छ । नहाय खायसँगै सुरु हुने छठ पूजामा विशेषगरी उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत वर्षभन्दा अझ उत्कृष्ट, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्मेवारी बाँडफाँट गरिएको उहाँले बताउनुभयो ।
कात्तिक १३ गते अर्थात् आइतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर जाग्राम बसेर पूजाआरधना गरिने छठ पूजाका लागि करिब पाँच सय मिटर जग्गामा घाट व्यवस्थापन गरिएको समितिका सल्लाहकार संयोजक अध्यक्ष राजकुमार शर्माले जानकारी दिनुभयो । घाटमा एक हजार बढीले पूजा गर्न सकिने उहाँले बताउनुभयो ।
समितिले बिहानैदेखि समाजसेवीको सहभागितामा नदी आसपासका क्षेत्रका फोहर सरसफाइ गरिरहेको छ । समितिका अध्यक्ष साहका अनुसार व्यापारीका लागि दश वटा स्टल, मूर्तिका लागि एक स्टल, मञ्च कार्यक्रमका लागि एक वटा स्टल र बाँकी सबै पूजाका लागि घाट निर्माण गरिएको छ । यो वर्षको पर्वमा लोकसंस्कृति झल्कने गरी खुल्ला नृत्य तथा गायन प्रतियोगिता, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, सम्मान लगायतका कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी छठलाई लक्षित गर्दै चोकचोकका व्यापार व्यवसाय बढाइएको छ । छठको अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ । छठ पर्वमा केराको अत्यधिक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुँडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरू यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्