सल्यानको मखमली फूलको माला क्यानडा निर्यात

सल्यान । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन् । गाउँका प्रत्येक टोलका देखि बारीभरि लहरै मखमल र सयपत्री फूल लटरसम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन् ।
नेपालमा प्लास्टिकका फूलले बजार ओगटी रहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ ।
शारदा नगरपालिकाका–२ जोगिदेउखोलामा सात रोपनी जग्गामा फूलखेती गर्नु भएका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताउनुभयो । क्यानडाबाट पाँच सय मखमली फूलको माला अर्डर भएअनुसार माला पठाइएको उहाँको भनाई छ । उहाँले भन्नु ‘भयो जिल्लामा पहिलो पटक व्यावसायिक पुष्पखेती गरिएको र पहिलो पटक नै विदेशबाट अडर आउँदा व्यवसाय प्रति थप हौसला मिलेको छ ।’

सरकारले प्लास्टिकबाट बनेका मालमा प्रतिबन्ध लगाएसँगै बजारमा सयपत्री र मखमली फूलको माग अत्यधिक बढेको उहाँको भनाई छ । विदेश देखि बाह्रय जिल्लाबाट समेत फूलका लागि माग भएपनि जिल्लाभित्र नै माग अनुसार पुर्याउन नसकेको वलीले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही समय अघि बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती थिए । आफूले उत्पादन गरेको फूल बिक्री हुदैनकी भनेर चिन्ता थियो तर अहिले पुर्याउन नसकेर अडरकर्ता रिसाउँछन् कि भन्ने चिन्ता छ ।’
सरकारले पुष्प खेती गर्ने किसानहरूलाई मल, बीउको सहज व्यवस्था गर्न सक्ने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने वलीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्