जिप दुर्घटना : मष्टा गाउँ शोकमा
बझाङ।जीप दुर्घटनामा परेर पालिकाभित्रका आठ जनाको मृत्यु भएको शोकमा बझाङको मष्टा गाउँपालिकाले कार्तिक ३ गते बिहीबार (आज) एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार गरेको निर्णय अनुसार मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालयहरू तथा गाउँपालिका मातहतका कार्यालयहरूमा बिहीबार शोक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले जानकारी दिनुभयो ।
बुधबार दिउसो मष्टा गाउँपालिका वडा नं १ तुफानडाँडामा सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको थियो । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेर्न गएका उनीहहरु फर्कने क्रममा जीप दुर्घटनामा परेका हुन् । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत, मष्टा गाउँपालिका १ रन्नाडा की ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् । जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ ।
घाइते हुनेमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाउँपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अङ्कित खड्का, ४ वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह रहेका छन् ।
दुर्घटनामा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ । सदरमुकाम चैनपुरबाट सिलदेवी मेला हेरेर खुसि साटासाट गरेर घर फर्किने क्रममा उनीहरू आफ्नै गाउँ नजिकै आइपुग्दा दुर्घटनामा परेका थिए । जिपमा ओभरलोड भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मष्टा गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनुहुनेहरुप्रति मृत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन र आफन्तजनमा समवेदना प्रकट गरेको छ । यस्तै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्