प्रदेश जनलोकपाल आयोगले प्रदेश प्रमुख समक्ष बुझायो प्रतिवेदन
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशमा सुशासन स्थापना तथा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरेको जनलोकपाल आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।

जनलोकपाल आयोग गठन भएको दुई वर्ष हुन लाग्दा पनि आयोगले दर्ता भएको १५ उजुरीमध्ये एउटा उजुरीको छानविन गर्न नसकेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आयोगका अध्यक्ष रामसहाय यादव र आयुक्तहरू राजकिशोर साह तथा शोभा देवी महतोबाट प्रदेश प्रमुख मिश्रले प्रतिवेदन बुझ्नुभएको हो । जनलोकपाल आयोग गठन गरेर प्रदेश सरकारले छुट्टाएको बजेट आयोगले खर्च गरे पनि सो अनुसारको कामकाज अगाडी बढ्न सकेको छैन ।
आयोगमा भएका आयुक्त तथा कर्मचारीहरूका विवादका कारण ऐनले तोकेअनुसारको कामकाज गर्न सकेको छैन । आयोगमा उजुरी मात्र दर्ता हुने काम भइरहेको छ ।
यसैबीच प्रदेश सरकारको जनलोकपाल आयोगमा भएको विवादको समाधान गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रले भोलिका लागि आफ्नै कार्यालयमा बोलाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्